Friday, April 17, 2020

लकडाउनको प्रभाव : स्वीकृति पाएका दुई कम्पनीको आईपीओ रोकियो

लकडाउनको प्रभाव : स्वीकृति पाएका दुई कम्पनीको आईपीओ रोकियो
  लकडाउनको अवधि निरन्तर बढ्दै जाँदा स्वीकृति पाएका दुई कम्पनीको आईपीओ निष्कासन हुन सकेको छैन । गैरआवासीय नेपाली (एनआरएन) को लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र एनआईसी एशिया लघुवित्त कम्पनीको आईपीओ निष्कासन प्रक्रिया यति बेला रोकिएको छ । 
दुवै कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पाएको सानिमा क्यापिटलले लकडाउनकै कारण आईपीओ विक्री खुला गर्न नसकेको बतायो । सानिमा क्यापिटलका लगानी बैंकिङ प्रमुख मन्दीप लुइँटेलले एनआरएन इन्फ्रास्ट्रक्चरको चैत २८ गतेदेखि र एनआईसी एशिया लघुवित्तको वैशाख २ गतेदेखि निष्कासन गर्ने योजना रहे पनि लकडाउनका कारण रोकिएको बताए । 
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ विक्री गर्न बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीले हाल कायम जारी पूँजी रू. १ अर्ब १३ करोड २६ लाखको आधारमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
यस आधारमा कम्पनीले सर्वसाधारणलाई रू.३३ करोड ९८ लाख ४ हजार बराबरको आईपीओ विक्री गर्नेछ । संस्थापकतर्फबाट जारी पूँजीको ७० प्रतिशत बराबरको रू. ७९ करोड २८ लाख ७७ हजार शेयर पूँजी चुक्ता गरिसकेको छ । 
आईपीओ विक्री गर्न गत असार ३१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको यस कम्पनीले फागुन ४ गते स्वीकृति पाएको थियो । नेपालमा संस्थागत लगानी गर्ने उदेश्यका साथ गैरआवासीय नेपालीहरूबाट स्थापित यस कम्पनीले गत असोज २४ गते सातांै वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
त्यस्तै, लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो रकमको आईपीओ विक्री गर्न एनआईसी एशिया लघुवित्तले चैत ४ गते अनुमति पाएको थियो । यस कम्पनीले अनुमति पाएको पनि १ महीना बितिसकेको छ । कम्पनीले रू. ४७ करोड ५५ लाख बराबरको आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो । 
आईपीओ विक्रीका लागि कम्पनीले माघ ७ गते निवेदन दिएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै बोर्डको अनुमति पाएको यस कम्पनीको निष्कासन प्रक्रिया भने यति बेला रोकिएको छ । 
कम्पनीले हाल कायम जारी पूँजी रू. १ अर्ब ४८ करोडको आधारमा सर्वसाधारणका लागि ३२ दशमलव १३ प्रतिशत शेयर जारी गर्न बोर्डको स्वीकृति पाएको हो । हाल संस्थापकबाट चुक्ता भएको शेयरपूँजी रू. १ अर्ब ४५ लाख रहेको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भएको व्यवस्थाअनुसार बोर्डबाट विवरणपत्र, विक्री प्रस्ताव वा सम्बद्ध विवरण स्वीकृत भएको मितिबाट २ महीनाभित्र संगठित संस्थाले धितोपत्रको विक्री गरिसक्नुपर्नेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको अवस्थालाई हेर्ने हो भने आईपीओ स्वीकृतिको २ महीना वैशाख ४ गते पूरा भएको छ । कम्पनीहरूले धितोपत्र निष्कासनका लागि आह्वानपत्र जारी गर्दा ७ कार्यदिन अघि गर्नुपर्नेछ।

No comments:

Post a Comment